गाउँघरमा हुने सानातिना विवाद मिलाउन स्थानीय मेलमिलापकर्ता तयार गरिँदै प्रकाशित मिति : 8 December, 2018 8:46 am बझाङ, २२ मङ्सिर / गाउँघरमा हुने सानातिना विवाद मेलमिलापबाट सुल्झाउने उद्देश्यले जिल्लामा पहिलो पटक स्थानीय मेलमिलापकर्ता तयार गर्न लागिएकोे छ । सरकारवादी हुने मुद्दाबाहेक दर्ता भएका अन्य मुद्दामा स्थानीय निकायको न्यायिक समितिले फैसला गर्नुअघि मेलमिलाप गराउन वडावडामा मेलमिलापकर्ता राख्न लागिएको हो ।जिल्लाको जयपृथ्वी नगरपालिका र तल्कोट गाउँपालिकाका प्रत्येक वडाबाट तीन÷तीन मेलमिलापकर्तालाई सदरमुकाम चैनपुरमा आठदिने मेलमिलापसम्बन्धी आधारभूत तालीम सञ्चालन भइरहेको छ ।नेपाल मेलमिलापकर्ता समाजको आयोजना तथा युएनडिपीको आर्थिक सहयोगमा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाले तालीम सञ्चालन गरेको तालीम संयोजक कविता शाहले बताउनुभयो । तालीममा तल्कोट गाउँपालिकाबाट २१ र जयपृथ्वी नगरपालिकाबाट ३४ गरी ५५ महिला पुरुष सहभागी छन् । न्यायिक समितिमा आउने मुद्दालाई पनि वडा तहमा रहने मेलमिलापकर्ताबाटै मेलमिलाप गराउन सहज, सरल र छरितो हुने उक्त नगरपालिकाका उपप्रमुख जुना जाग्रीले बताउनुभयो । अब स्थानीय तहमा मेलमिलापकर्ता डेक्स स्थापना गरी तालीम लिएका मेलमिलापकर्तालाई नगरपालिकाका साथै सबै वडामा राखिने उहाँले जानकारी दिनुभयो । स्थानीय तहका साथै अदालतमा समेत मेलमिलापकर्ताको आवश्यकता भएकाले नेपाल सरकारको कार्ययोजनाअन्तर्गत तालीम दिएको परियोजना अधिकृत सीमा धामीले बताउनुभयो ।रासस