अफगानिस्तानका खडेरी पीडितलाई राष्ट्रसंघको सहयोग प्रकाशित मिति : 18 October, 2018 6:48 am काबुल / अफगानिस्तानमा खडेरीबाट पीडित नागरिकलाई संयुक्त राष्ट्रसंघले तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढीको आर्थिक सहायता दिने भएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्था ओसिएचएले अफगानिस्तानमा सुख्खा मौसमका कारण उत्पन्न खाद्य सङ्टको समाधानका लागि सो रकम उपलब्ध गराउने भएको बताइएको छ । राष्ट्रसंघमा रहेको अफगानिस्तान मानवीय सहायता कोषबाट उक्त रकम प्रदान गर्न लागिएको राष्ट्रसंघीय कार्यालयद्वारा बुधबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाइएको छ । यो रकम सुख्खा पीडित करिब २२ लाख अफगान नागरिकलाई खाद्यान्न किन्न प्रयोग गरिने आर्थिक सहयोगस्वरुप प्रदान गर्न लागिएको समाचारमा जनाइएको छ । यो रकम ती नागरिकलाई प्रत्यक्षरुपमा दिने नभई अफगानिस्तानमा मानवीय सहायताका क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी गरी करिब २२ ओटा गैरसरकारी संस्थालाई उपलब्ध गराइने र ती संस्थाले खाद्यान्न किनेर खडेरी पीडित ती नागरिकलाई वितरण गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ । यस रकममार्फत सुख्खा प्रभावित नागरिकलाई आकस्मिक रुपमा खाद्यान्न सहयोग गर्ने, प्राथमिक स्वास्थ्य चौकीको निर्माण गर्ने, खानेपानी र चर्पीको व्यवस्था गर्ने र किसानहरूलाई उनीहरूले पालेका पशुको संरक्षणका लागि सहयोग गर्ने योजना रहेको राष्ट्रसंघ जानकारी दिएको छ । अफगानिस्तानमा यस वर्ष खडेरीको निकै ठूलो प्रकोप देखा परेको छ । अफगान अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानका ३४ ओटा प्रान्तमध्ये हाल कम्तीमा पनि २० ओटा प्रान्त खडेरीको चपेटामा परेका छन् । खडेरीको यो अवस्थाका कारण यसै वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ३० लाख नागरिकलाई खाद्यान्नको खाँचो रहेको अधिकारीहरूको भनाई छ । देशको पश्चिमी र उत्तरी भूभागका नागरिक बढी मात्रामा खडेरीको चपेटामा परेका छन् । ती क्षेत्रका शहर तथा धेरैजसो गाउँघरकै नागरिकले आफूहरूले जीवनमा यतिठूलो खडेरीको समस्या कहिल्यै नभोगेको जनाएका छन् । अफगानिस्तानका उत्तरी भूभागमा यसअघि पनि खडेरी पर्ने गरेको अधिकारीहरू बताउँछन् तर पनि यस पटकको जस्तो लामो समयसम्म भने यसअघि कहिल्यै खडेरी परेको आफूहरूले अनुभव नगरेको स्थानीय नागरिक बताउँछन् । लामो समयदेखि पानी नपर्दा देशको ग्रामीण क्षेत्रमा हिँउदे या वर्षे कुनै पनि खेती गर्न पनि नसकिएको उनीहरूको भनाइ छ । रासस/सिन्ह्वा