कारबाहीमा साठी अल शबाब समूहका आतङ्ककारी मारिए प्रकाशित मिति : 17 October, 2018 8:07 pm सोमालिया / अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ । अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका हुन । बीबीसीका अफ्रिकी सम्बादाता विल रोजले अमेरिकी र सोमालियाली सेनाको संयुक्त प्रयासमा आतङ्ककारीविरुद्ध भएको यस पछिल्लो कारबाही अल–शबाब समूहका लागि ठूलो झट्का भएको बताउनु भएको छ । यो कारबाही सन् २०१७ को नोभेम्बरयताकै भीषण भएको बताइएको छ । अल–कायदासँग सम्बद्ध अल–शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी समाचार संस्था एपीका अनुसार यस वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेका छन् । रासस/एएफपी