स्वास्थ्यकर्मीको रगतले बच्यो सुत्केरीको ज्यान

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १२ असोज / ताप्लेजुङमा स्वास्थ्यकर्मी आफैँले रगत दिएर सुत्केरीको ज्यान बचेको छ । पेशाअनुसार आफ्नो जिम्मेवारी बहन गर्ने हो भने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम बिरामीको उपचार गर्नु हो । तर, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले उपचार मात्र नभई उपचारमा सङ्लग्न एक चिकित्सकले मरणासन्न अवस्थामा पुगेकी सुत्केरीलाई आफैँले रगत दिएर बताउनुभएको छ ।

पेशासँगै धर्म पनि जोडिन्छ, धर्म भनेको परोपकार हो र धर्मले जीवन जोगाउँछ भन्ने भनाइलाई सार्थक बनाउँदै जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर हरिशङ्कर कार्कीले रगत दिएर एक १७ वर्षीया सुत्केरी महिलाको ज्यान बचाउनुभएको छ । कलिलैमा अर्थात १७ वर्षकै उमेरमा आमा बन्ने क्रममा अधीक रक्तस्राप भई मृत्युको मुखमा पुग्नुभएकी फुङ्लिङ नगरपालिका–८ बस्ने सम्झना तामाङको ज्यान डाक्टर कार्कीको एक पिन्ट रगतले बचेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर सचिन यादवका अनुसार तामाङ साधारण अवस्थामै अस्पतालमा भर्ना हुनुभएको थियो । प्रसूतिको समयमा पाठेघरको मुख क्रियाशिल हुँदै गएपछि अत्यधिक रक्तश्राव भएको र उहाँलाई रगतको आवश्यक परेको डाक्टर यादवले बताउनुभयो । “तामाङलाई बाहिर रेफर गर्ने अवस्था पनि नरहेको र तत्कालै रगत खोज्दा पाउने स्थिति पनि नहुँदा स्वास्थ्यकर्मी आफैँले रगत दिने निस्कर्षमा पुगेका हौ” डाक्टर यादवले भन्नुभयो । रातको समय र जिल्ला अस्पतालमा उनलाई चाहिने प्रकृतिको रगत नभएको अवस्थामा चिकित्सकले नै रगत दिएर सुत्केरीको ज्यान बचाउन सफल भएको उहाँले बताउनुभयो ।

हाल तीन केजी ८०० ग्राम तौल भएको बच्चाका साथ अहिले सम्झना अस्पतालको शैयामा खतरामुक्त अवस्थामा रहनुभएकी तामाङले रक्तदान गरेर जीवन बचाइदिने चिकित्सकलाई सम्मान स्वरुप धन्यवाद दिनुभएको छ । तामाङ स्वास्थ्यकर्मीकै परामर्श र निगारानीमा अस्पतालमा हुनुहन्छ । डाक्टर यादवका अनुसार तामाङको उपचारमा निर्मला महत, भीमा मादेन र कविता राई सहितका स्वास्थ्यकमीहरु संलग्न हुनुभएको थियो ।

यता रेडक्रस सोसाइटी ताप्लेजुङद्वारा जिल्ला अस्पतालमा ब्लड बैङ्कको स्थापना गरिएको भए पनि धेरै दिनसम्म रगत सञ्चित गर्ने क्षमता छैन । ब्लड बैङ्कको उचित सुरक्षा र क्षमताको अभावका कारण बढीमा १५ दिनसम्म प्रत्येक रक्त समूहका एक/एक पिन्ट रगत राखेपछि अन्यत्र पठाइने गरिएको अस्पतालले जनाएको छ । उचित क्षमता सहितको व्यवस्थित ब्लड बैङ्क नभएसम्म यस्ता जोखिमको सामना गरिरहनुपर्ने अवस्था रहने निमित्त स्वास्थ्य प्रमुख यादवको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्