बजार अनुगमन तीब्र

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ११  असोज / ताप्लेजुङमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिले दिनहुँजसो बजार अनुगमन गर्न थालेको हो ।

उक्त समितिले बिहीबार पनि सदरमुकाम फुङ्लिङ बजार अनुगमन गरेको छ । फुङ्लिङ बजारको हेलिप्याड र तोक्मे क्षेत्रका आधा दर्जन बढी खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको प्रहरी प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले जानकारी दिनुभयो । अनुगमनका क्रममा केही मसलाजन्य वस्तु, पेय पदार्थ, खानेतेल, बिस्कुट जस्ता खाद्य वस्तुहरु म्याद गुज्रेका पाइएको मादेनले बताउनुभयो ।

अनुगमनका क्रममा फेला परेका अखाद्य वस्तुहरु सम्बन्धित पसले तथा व्यवसायीसँग प्रमुख जिल्ला अधिकारीले भेट गरी आवश्यक सुझाव र सोधपुछ पछि नष्ट गरिने पनि सहायक प्रजिअले जानकारी दिनुभयो । केही व्यवसायीले आफ्नो पसलमा सामान झार्दा नै म्याद गुज्रेको पाइएको पनि बताएका छन् । यस्तै अनुगमनका क्रममा केही व्यवसायीले आवश्यक सबै कार्यालयमा व्यवसाय दर्ता नगरेका र केही नवीकरण नगरेको पाइएको फुङ्लिङ नगरपालिकाका प्रतिनिधि भूपालकुमार सेन्दाङले बताउनुभयो ।

केही दिन यतादेखि निरन्तर हुँदै आएको बजार अनुगमनमा जिल्ला प्रसाशनसहित फुङ्लिङ नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग बाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासङ्घ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका निकायबाट प्रतिनिधित्व रहेको छ । यता बजार अनुगमन कार्यलाई निरन्तरता दिइने पनि समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस्