राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग प्रकाशित मिति : 5 September, 2018 4:44 pm काठमाडौं– भदौ २० / नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम् संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिँडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उल्लंघन गर्दै सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको दाबी समेत उनले गरे । उनले भने– ‘संविधानभन्दा माथि कोही पनि हुँदैन । संविधानको उल्लंघन गर्ने सरकारको औचित्य छैन । म यहीबाट राजीनामा माग्छु । हामीले उहाँलाई राजा बनाएको होइन, प्रधानमन्त्री बनाएको हो । संविधानको उल्लंघन गर्न बनाएको होइन ।’ सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गइरहेको भन्दै उनले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । उनले भने– ‘बाँके निवासीले बद्रियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ । सरकारले कस्टडीमा लिन्छ । सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन । कस्टडीको अर्थ जिम्मा लिने हो । कैद होइन । जिम्मामा सरकारले लिन्छ । जिम्मा लिएर हत्या गर्छ । हत्या गरेपछि सम्बन्धित पुलिस अफिसरलाई पनि कारवाही हुनुपर्छ । यसको न्यायिक छानविन समिति गठन गरियोस् ।’ मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उनले कानुनअनुसार चल्न सरकारलाई चेतावनी दिए । उनले भने– ‘कस्तो संविधानको रु कस्तो सरकारको अभ्यास गर्दैछौ रु वास्तवमा सरकार लोकतान्त्रिक होकि होइन रु सरकारले संविधान मान्नुपर्छ कि पर्दैन रु सुरक्षा निकायले मान्नुपर्छ कि पर्दैन रु’ उनले सरकार र विचौलियाबीच मिलेमतो भएका कारण उखु किसानले उखुको मूल्य नपाएको आरोप लगाए । बुधबारकै बैठकमा बोलेका नेकपाका सांसद महेश बस्नेतले अध्यागमन विभागले एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हाँस्यास्पद भएको टिप्पणी गरे । शंकाष्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रशार गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए । रातोपाटी द्वारा समाचार् प्रकाशित्