ताप्लेजुङमा एक वर्षमा सात आमा र ४२ जना नवजात शिशुको मृत्यु

प्रयास लिम्बू
ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङमा पछिल्लो एक वर्षमा सात आमा र ४२ जना नवजात शिशुको मृत्यु भएको छ । जिल्लामा क्रियाशील वान हर्ट वल्ड वाइड कार्यक्रमका अनुसार गर्भावस्थामा महिलाले उचित ध्यान नदिँदा तथा सावधानी नअपनाउँदा उक्त सङ्ख्यामा आमा र शिशुको मृत्यु भएको हो ।


सन् २०१६ देखि ताप्लेजुङमा मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि क्रियाकलाप गर्दै आएको वान हर्ट वल्ड वाइड कार्यक्रमको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७५÷७६ मा सातजना गर्भवती आमा र ४२ जना नवजात शिशुको मृत्यु भएको हो । महिलाले गर्भाअवस्थामा अपनाउनुपर्ने सावधानी, गर्भ सुरक्षाका लागि उपभोग गर्नुपर्ने जिङ्कचक्की लगायतका तत्वहरुबारे ध्यान नदिँदा साथै सुरक्षित प्रसूति सेवाका लागि ख्याल नगर्दा गर्भवती आमाको ज्यान गएको कार्यक्रमका जिल्ला संयोजक गणेश बस्नेतले जानकारी दिनुभयो ।


अध्ययनअनुसार अधिकांश आमाहरुको बच्चा जन्माएपछि सालनाल अड्किएर साथै अधिक रक्तस्राप भई मृत्यु भएको पाइएको कार्यक्रम संयोजक बस्नेतले बताउनुभयो । गर्भवती महिलाले गर्भबारे ख्याल नगर्दा र दक्ष स्वास्थ्यकर्मीको सहयोग नलिँदा साथै प्रसूति केन्द्र (बर्थिङ् सेन्टर) मा नगई घरमै प्रसूति गराउने गरेका कारण आमा र नवजात शिशुको मृत्यु हुने गरेको उहाँले बताउनुभयो । अधिकांशले गर्भावस्थाको उचित ख्याल र सुरक्षित प्रसूति गर्नेबारे बेवास्ता गर्नाले अकालमै गर्भवती महिलाले ज्यान गुमाउँदै आएका उहाँको भनाइ छ ।


यता ताप्लेजुङमा मातृ तथा नवजात शिशुको मृत्युको यस्तो विकराल अवस्था रहे पनि वान हर्ट वल्ड वाइड कार्यक्रम लागू भएपछि भने मातृ तथा नवजात शिशुको जीवन रक्षामा प्रगति हुँदै गएको जनाइएको छ । वान हर्ट वल्ड वाईड कार्यक्रमले कार्यक्रम लागू गरेपछि मातृ तथा नवजात शिशुको अवस्थामा देखिएको परिवर्तनबारे प्राप्त नतिजा र सुधारका आगामी कार्ययोजना सार्वजनिक गर्दै नजिता सन्तोषजनक आउँदै गएको जनाएको छ ।

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको माग र सेवा प्रवाहमा वृद्धि, सेवा प्रदायकको क्षमता अभिवृद्धि, गुणस्तर सुधार तथा अध्ययन अनुसन्धानमार्फत तथ्य सङ्कलनको क्रियाकलाप वान हर्ट वल्ड वाइड कार्यक्रमले गर्दै आएको छ । जिल्ला संयोजक बस्नेतका अनुसार कार्यक्रम लागू भएपछि गर्भवती महिलाले चार पटक गर्भ जाँच गराउनको अवस्था ३६ प्रतिशतबाट सुधार भएर ४० प्रतिशत पुगेको छ । महिलाले गर्भवती भएपछि चार महिनामा पहिलो पटक र त्यसपछि छ, आठ र नौ महिनामा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउनुपर्ने हुन्छ । यस्तै स्वास्थय संस्थामा गएर सुरक्षित प्रसूति गराउनेको सङ्ख्या ३० बाट बढेर ४० प्रतिशत पुगेको छ भने दक्ष प्रसुतिकर्मीमार्फत प्रसुति सेवा लिनेको प्रतिशत ३३ बाट वृद्धि भई आव २०७५÷७६ मा आइपुग्दा ३९ पुगेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।


यस्तै कार्यक्रम लागू भएपछि वान हर्ट वल्ड वाइडले मातृ तथा नवजात शिशुको स्वाास्थ्य सेवा सुदृढिकरणमा सहयोग गरेको छ । कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधारतर्फ प्रसुति केन्द्रको मर्मतसुधार, स्वास्थ्य संस्थामा औजार तथा उपकरण सहयोग, फोटोथेरापी तथा भिडियो एक्स–रे उपकरण लगायतमा सहयोग गर्दै आएको छ । जिल्ला अस्पतालसहित जिल्ला ११ वटा प्रसूति केन्द्रमा आवश्यक सामग्री उपलब्ध गराएको छ । सेवा प्रवाहको दक्षता अभिवृद्धिका कार्यक्रमअन्तर्गत प्रसुतिकर्मीलाई दक्षता तालिम, महिला स्वास्थ्य केन्द्रहरुमा प्रदान हुने जीवन सुरक्षा तालिमसमेत प्रदान गर्दै आएको वान हर्ट वल्ड वाइडले जनाएको छ ।


यसबाहेक दक्ष प्रसुतिकर्मीलाई कार्यस्थल प्रशिक्षण, स्वास्थ्य संस्था व्यवस्थापन समितिको क्षमता सुदृढीकरण कार्यक्रम, मातृ तथा नव शिशु अद्यावधिक कार्यहरु गर्दै आएको छ । जिल्लामा स्वास्थ्य संस्थाहरुबाट वितरण हुने सेवा गुणस्तरीय र सेवाको पहुँचमा सुलभता ल्याउनमा सहयोग पुग्नेगरी वान हर्ट वल्ड वाइडले क्रियाकलाप गर्दै आएको जनाएको छ । हालसम्मको क्रियाकलापछि मातृ तथा नवजाति शिशुको जीवन रक्षामा आएको सकारात्मक परिवर्तनलाई अझ थप गुणस्तरीय नतिजा दिनेगरी सेवा प्रवाह गर्ने कोसिस गर्दै जाने वान हर्ट वल्ड वाइड कार्यक्रमकी व्यवस्थापक गीता शर्माले बताउनुभयो ।


वान हर्ट वल्ड वाइडले आफ्नो कार्यक्रम, बजेट तथा क्रियाकलापबारे जिल्ला परियोजना सल्लाहकार समिति, कार्यक्रम सञ्चालन भएका स्थानीय तहका प्रमुख, कार्यक्रम सञ्चालन भएका स्वास्थ्य संस्थाका प्रमुख र उपभोक्तासहितका सरोकारवालाको उपस्थितिमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला परियोजना सल्लाहकार समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनसहित कार्यक्रम लागू भएका स्थानीय तहका पदाधिकारीहरुले आफ्नो ठाउँबाट सहयोग गर्दै आएको बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्