नयाँ अनलाइनले सुरु गर्‍यो सिर्जना श्रृङ्खला कार्यक्रम

काठमाडौं, २१ कात्तिक । नयाँ अनलाइन डटकमले सिर्जना श्रृङ्खला कार्यक्रमको आयोजना गरेको छ । गजलकार सुजन सिरेङ चोङबाङको एकल गजल कार्यक्रम गरी सिर्जना श्रृङ्खला गरेको हो ।

गजल लेखनमा बाघे (बागी?) गजल लेख्ने सिरेङले मायाप्रेम, संस्कृति, विकृतिमाथिको प्रहार भावमा ८ वटा गजल प्रस्तुत गरेका थिए । उननलाई कविरनाटककार विष्णु नेम्बाङ, आष्मा अर्याल, मिरान लिम्बू, रेनु राईले वाचनमा सहयोग पुर्‍याएका थिए ।

गजल सुनेर चर्चित गजल लेखिका तथा गीतकार शीतल कादम्बिनीले सुजनका गजलहरू श्रवणीय नै रहेको बताइन् । श्रृङ्गारिक पक्षमा अझै सुधार्नुपर्ने कादम्बिनीको सुझाव थियो । समयलाई ध्यान दिएर छोटो मिठो कार्यक्रम गरेको प्रति प्रभावित बनेको पनि बताइन् ।

सृजनशील अराजकताका अभियन्ता तथा आख्यानकार राजन मुकारुङले गजल आयातित विधा भएको बताउँदै गजलभन्दा पालाम, सिलीमार्फत आफ्ना कुराहरू भन्न सजिलो र राम्रो हुने बताए । गजल सामन्तवादबाट आएकोले यसमा खान्दानी भाषा प्रयोग हुने, सुरा सुन्दरीको पक्षपाती हुने मुकारुङले बताए । सुजनको गजलमा पनि ‘आज्र्याको थिएँ’ जस्ता शब्द पाएको तर लिम्बुवान भने कसैले नआर्जेको भूमि भएकोले त्यस्तो भाषा नसुहाउने बताए ।

कवि स्वप्निल स्मृतिले लेखनमा शब्दमात्र लिम्बू भएर हुन्न, लिम्बुपनको आभाष पनि हुनुपर्ने बताएका थिए ।

सुजन सिरेङ चङ्बाङ
को हुन् सुजन सिरेङ चङ्वाङ् ?

ताप्लेजुङ मैवाखोला गाउँपालिका साँघु ४ ताम्राङ ताप्लेजुङमा बुबा शिबकुमार सिरेङ र आमा श्रीमाया सिरेङ (नेयोङहाङ् ) बाट जन्मिएका हुन् सुजन सिरेङ चङबाङ । हाल सपरिवार पथरी शनिश्चरे १ मोरङमा बस्दै आइरहेका सुजनले गजल लेख्न सुरु गरेको निकै लामो समय भयो । गजल लेखनको यात्रा लामो भएतापनि पुस्तक प्रकाशन भने गरेका छैनन् । अब चाडै नै सङ्ग्रह प्रकाशन गर्ने तयारीमा छन् । सुजन गीतकार पनि हुन् । केहि गीतहरू रेकर्ड भइसकेका छन्, केहि रेकर्ड हुन बाँकी छ । गजल लेखनमा भन्दापनि अध्ययनमा धेरै समय खर्चिने सिरेङ बताउँछन् । स्रष्टा सुजन लामो समयदेखि युएईमा रहेर साहित्य सिर्जनामा तल्लिन छन् ।

सुजनका केही सेरहरू यस्ता थिए ।


लिम्बुनी हुँ बिचार भए रीति जनाउ भन्छे
लोकन्दीको ताँती अनि दुई नाल हनाउ भन्छे

बा–आमाको पाऊ पर्नु काका मामा धेरै छन्
साम्याङ युप्पा अघि सारी आफै मनाउ भन्छे ।
ंंं
जति गर्यो जसो गर्यो जिउन्जेल मात्र खानु रैछ
दुईदिनका पाहुना हामी दुईदिनकै भानु रैछ

आफै खाँउ आफै लगाउ सुख सयल मै रमाउ
खाई मोटाई बडेमान, सोचाई सबको सानू रैछ
ंंं
सोच्ने गर्छु जिन्दगीको कहानी बेकार लाग्छ
तिमी बिना मातिने यो जवानी बेकार लाग्छ

तिमी उता ओसन पार्क म त गाउँ बेशीमा
बिना भिजा गोजी रुग्ने राहदानी बेकार लाग्छ ।

आयोजक नयाँअनलाईन डटकमका प्रवन्धक देवेन्द्र खापुङका अनुसार आगामी दिनमा यस्ता सृजनात्मक कार्यक्रमहरूको आयोजना हुने बताए ।

कार्यक्रम काङ्सोरे मिडियाका अध्यक्ष सुन्दर आलेको सभापतित्वमा र सीता तुम्खेवाको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्